प्रभाकरण अन्त्यको अर्थ
तमिल विद्रोही नेता भेलुपिल्लाई प्रभाकरण युद्धमा मारिएका छन् । उनी कुनै सिनेमाको नायकझैँ अन्तिम लडाइँ जितेर फर्केनन् । बरु, आफ्ना सबैभन्दा निकटका मान्छेसँगसँगै मरे । सरकारी आक्रमणमा उनलाई मारिएको वा उनलाई पक्रेर मारिएको हो भने त्यस्तो हत्या यतिवेला अनेक प्रश्न लिएर समयका अगाडि खडा छ । मृत्युसँगै उनका गुन-बैगुन चर्चामा छन् र धेरैले उनलाई नकारात्मक रूपमा चित्रण गरेका छन् । सामान्यतया एउटा प्रचलित भनाइ छ— उनी कसैका लागि आतंकवादी होलान् त कसैका लागि विद्रोही वा सहिद होलान् । तर, त्यति मात्र छैन प्रभाकरण अन्त्यको अर्थ । उनको अन्त्यसँगै श्रीलंकामा २५ वर्षदेखि जारी हिंसात्मक तमिल विद्रोहको अन्त्य भएको छ । तर, यसले नै तमिल र तमिलजस्ता विद्रोहका आधार समाप्त भएको तथ्य मान्ने वेला भने भएको छैन । जेजस्तो भए पनि श्रीलंकामा तमिलका लागि अलग इलम स्थापना गर्ने अभियान भने अहिले सदाका लागि अन्त्य भएजस्तो देखिएको छ ।
प्रभाकरणको उदय उत्तर-औपनिवेशिक राजनीतिको एउटा गतिलो विम्ब हो । बेलायती साम्राज्यवादीले श्रीलंकामा चियाखेतीका लागि सस्तो श्रम आपूर्ति गर्नका लागि नजिकैको भारतीय राज्य तमिलनाडुबाट लगेका तमिलहरूले कालान्तरमा श्रीलंकाको झन्डै १७ प्रतिशत जनसंख्या ओगट्न पुगे । श्रीलंकाको स्वतन्त्रतापछि बहुसंख्यक हुँदाहुँदै पनि सिंहाली शासकहरूमा एकप्रकारको त्रास रह्यो र तिनले तमिललाई राज्यसत्तामा समान अधिकार र पहुँच दिन चाहेनन् । तिनीहरूको जातीय अहंकारवाद र अन्ध-राष्ट्रवादबाट तमिलहरू सिकार बन्दै रहे । त्यसबाट मुक्तिका लागि भएका सबै प्रयास तुहिएपछि प्रभाकरणले हिंसात्मक विद्रोह संगठित गरे । गलामा साइनाइड भिरेका आत्मघाती लडाकु दस्ताका माध्यमबाट उनले भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धीदेखी श्रीलंकाका सिंहल र तमिल राजनीतिज्ञको हत्या गराएर एकप्रकारले आफ्नो मिसनका लागि भयानक आतंकवादी बाटो पछ्याए । विश्वभर छरिएको तमिल डायस्पोराको सहानुभूति र तमिलनाडुका जातीय आफन्तहरूको समेत सहयोगमा उनको आन्दोलन व्यापक रूपमा फैलियो र एकपटक त सम्पूर्ण पूर्वी-श्रीलंका उनको नियन्त्रणमा पुग्यो । तर, उनले यसरी हतियार र जनसाधारणका बलमा स्थापित आफ्नो शक्तिलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्न सकेनन् । परिणामस्वरूप उनले हजारौँको बलिदानमा आर्जन गरेको शक्ति समाप्त भयो, उनीसँगै ।
इतिहासमा कतिपय आन्दोलन र तिनको सफलता त्यसको नेतृत्वका क्षमतामा निर्भर हुन्छन् । नेपालमा पनि माओवादीले आफ्नो शस्त्रबलका सीमा नबुझेको भए यो आन्दोलन पनि समाप्त हुनसक्थ्यो, तर प्रचण्डले त्यसलाई सफलतापूर्वक रूपान्तरण गराए । प्रभाकरणका लागि पनि हतियार बिसाएर तमिललाई अधिकारको सुनिश्चितता गर्दै राजनीतिक शक्ति आर्जन गर्ने धेरै अवसर थिए । उनले त्यो अवसर बुझेको देखिएन । उनले आफ्नो विद्रोहका सीमालाई अतिरञ्जनापूर्वक बुझे । त्यही अतिरञ्जनाले उनलाई त सिध्यायो-सिध्यायो, तमिलका आकांक्षामा पनि डढेलो सल्कायो । उनको पतनबाट नेपालका केही पृथकतावादी संगठनले पनि शिक्षा लिए राम्रो हुन्थ्यो ।
No comments:
Post a Comment