Thursday, May 06, 2010

माओवादी आमहड्तालको प्रतिकारमा उत्रिए जनता

काठमाडौं, वैशाख
माओवादीले घोषणा गरेको आन्दोलनको पाँचौं दिनमा आइपुग्दा विभिन्न स्थानमा प्रतिकारका घटना भएका छन्। प्रतिकारमा उत्रिएका स्थानीय र माओवादीबीच एक दर्जन बढी स्थानमा झडप भएका छन्। काठमाडौंकै जनता प्रतिकारमा

माओवादी हड्तालको प्रतिकारमा काठमाडौंकै जनता उत्रिएका छन्। बसुन्धरा, बुढानिलकण्ड, आरुबारी, कीर्तिपुरमा बन्दकर्ता र स्थानीयबासीबीच झडप भएको छ। नारा लगाउँदै चाबहिलबाट अघि बढिरहेको जुलुसमाथि अरुबारी क्षेत्रका बासिन्दाले आक्रमण गरेपछि झडप भएको छ।
बूढानिलकण्ठमा पनि माओवादी र स्थानीयबासीबीच झडप भएको छ। प्रतिकारमा संगठति समूह नभइ स्वतस्फुर्त प्रतिरोधमा उत्रिएका जनता सहभागी रहेको घटनास्थलबाट नागरिकन्युजकर्मी विकास कार्कीले बताएका छन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। जोरपाटीमा हड्तालविरुद्ध सर्वसाधारणले विरोध र्‍याली निकालेका छन्।
आफ्नो पसल खोलेर बसेकालाई माओवादीले कुटपीट गरेपछि जोरपाटीका स्थानीय प्रतिकारमा उत्रिएका हुन्। राजन क्षेत्र, प्रेमबहादुर क्षेत्री सहितका स्थानीयलाई आक्रमण गरेपछि स्थानीय हड्तालको प्रतिरोधमा उत्रिएका हुन्।
वीरगञ्ज हड्तालको पाँचौं दिन बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु युवा संघका कार्यकर्ताले हड्तालविरुद्ध नाराबाजी गरेपछि माओवादीसँग भिडन्त भएको हो। भिडन्तमा वाइसीएलका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा धर्ती चौधरी र उमेश पट्टेल छन्। माओवादी आन्दोलनको शिविर स्थानीयबासीले आगो लगाइ दिएका छन्। शिविरमा आन्दोलनकारी खाने बस्ने गर्दै आएका थिए। बिहान युवा संघको नेतृत्वमा भएको प्रतिकारमा स्थानीय बासिन्दा थपिएका थिए। भिडन्तको मुडमा रहेका माओवादी कार्यकर्ता र हड्तालविरुद्ध आक्रोसित स्थानीयबीच मुढभेडको सम्भावना बढेपछि सुरक्षाकर्मीले कर्फ्युको सूचना दिँदै सर्वसाधारणलाई घर फर्कन आह्वान गरेको वीरगञ्जबाट नागरिकन्युजकर्मी उपेन्द्र लामिछानेले जनाएका छन्।
हेटौंडामा सडकमा बसेर प्रदर्शन गरिरहेका माओवादी कार्यकर्तालाई युथफोर्सले लखेटोको छ। थोरै संख्यामा माओवादीलाई युथफोर्सले लखेटेपछि पछि मा‌ओवादीले ठूलो संख्यामा सडकमा कार्यकर्ता उतारेको छ। लोथरमा हिजो वाइसीएलले हत्या गरेका आफ्ना कार्यकर्ताको हत्यारा खोज्दै युथफोर्स घरघर गएर सोधपुछ गरेको चितवनबाट नागरिकन्युजकर्मी चाँदनी हमालले जनाएकी छन्।
सुनसरीको तरहराका सर्वसाधारणले आमहड्ताको अवाज्ञा गर्दै बजार खोलेका छन्। लगातारको आमहड्तालमा दैनिक उपभोग्य सामान खरीद गर्न सर्वसाधारणको दैनिक जनजीवन अस्तव्यस्त बनेपछि स्थानीयबासीले बजार खोलेका हुन्।
स्थानीयबासीले बजार खुलाउन र जनजीवन सहज पार्न मणिराम श्रेष्ठको अध्यक्षतामा ब्यापार प्रबर्दन समिति समेत निर्माण गरेका छन्। नागरिक समाजका अध्यक्ष महेन्द्र गिरीले माओवादीको आमहड्ताल अर्थहीन र सर्वसाधारणलाई दुःख दिने काम मात्र भएकाले स्थानीयबासीले अवज्ञा गर्दै बजार खुलाएको बताए।
बजार खुलाएपछि अतिआवश्यकीय सामान खरीद गर्नेको चहलपहल बढेकोछ। स्थानीयबासीले बजार खुलाएपछि हरेक विहीबार लाग्ने साप्ताहिक बजार पनि लागेको छ। तरहरा क्षेत्रमा आमहड्तालको पहिलो र दोस्रो दिन बाक्लो माओवादी ककार्यकर्ताको उपस्थिती बाक्लो रहे पनि तेस्रो दिनदेखि उपस्थिति शून्य देखिएको इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काले जनाएका छन्।

No comments: