Monday, May 17, 2010

युनिटीका दुई सञ्चालक पक्राउ / सम्पत्ति रोक्का

काठमाडौं, जेष्ठ ५

युनिटी इन्टरनेशनलका संचालकहरु मध्ये दुई जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ भने अन्य ६ जनाको तीव्ररुपले खोजी गरिरहेको छ । सरकारले सोमबारै संस्थाका सञ्चालकहरुको नामका खाता रोक्का गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई केन्दि्रय बैंकमार्फत् निर्देशन दिएको छ ।गृह मन्त्रालले सोमवार साँझ नेपाल प्रहरी, अध्यागमन विभाग, अन्तराष्ट्रिय विमानस्थल र राजस्व अनुसन्धान विभागलाई गोप्य, अत्यन्त जरुरी पत्र लेख्दै आठ संचालकहरुलाई 'तत्काल पक्राउ गर्न' लिखित निर्देशन दिएको छ । त्यसरी दिएको निर्देशनमा उनीहरुलाई पक्राउ गर्न नसके 'अर्को आदेश नभएसम्म कुनैपनि अवस्थामा नेपाल बाहिर जान नदिन' निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको पत्रमा युनिटीका सन्चालकहरु पक्राउ गरिए लगत्तै ललितपुरस्थित राजस्व अनुसन्ध्ान विभागको कार्यालयमा बुझाउन समेत निर्देशन दिइएको छ ।ललितपुर प्रहरी प्रमुख बिक्रम थापाका अनुसार, पक्राउ पर्नेहरुमा आर्थिक विभागका निर्देशक भीम गुरुङ र यात्रा निर्देशक नेत्र राजवंशी छन् । गुरुङ्ग दिव्यनगर छ स्थायी निवासी हुन भने राजवशी झापा चकचकी स्थायी निवासी हुन । दुवैलाई प्रहरीले जावलाखेलस्थित युनिटी टावरमा छापा मारी पक्राउ गरेको हो ।
पक्राउका लागी जारी गरिएको पत्रमा संचालकहरुको नागरिकता नम्बर, बुवाको नाम र स्थायी ठेगाना समेत उल्लेख छ । त्यसरी दिएको आदेशमा दुई सन्चालकहरु कृष्णबहादुर र बिष्णुबहादुर एकै घरका दाजुभाई भएको खुल्न आएको छ ।यसअघि गृह मन्त्रालयले आइतवार साँझ देशभरिका जिल्ला प्रशासन कार्यालयलाई अत्यान्तजरुरी छाप लगाएको पत्र फ्याक्स मार्फत परिपत्र गर्दै युनिटिका संचालकहरुलाई नियन्त्रणमा लिई उनीहरुले गर्दै आएको काम कारवाही बारे अनुसन्धान गर्न निर्देशन दिएको थियो । बीमा र बैक सम्बद्ध चारवटा प्रमुख नियमन निकायहरु राष्ट्र बैक, बिमा समिति, धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयसग परामर्श गरेपछि सरकारले युनिटीका संचालकहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको हो । पक्राउ गरिएकालाई पहिलो चरणमा अनुमति नलिई बिमा र बैकिङ्ग व्यवशाय गरी सर्वसाधरणलाई ठगी गरेको र विदेशी मुद्रा अपचलन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।
युनिटीका पदाधिकारीहरुलाई पक्राउ गर्न जादा पक्राउ गर्न जाँदा टावर परिसरमा केही समय तनाव उत्पन्न भएको थियो । युनिटीले ठगी गरेको समाचार पत्रपत्रिका छपिएपछि रकम फिर्ता माग्नेहरुको जावलाखेलस्थित युनिटी टावर देशभरिका जिल्लास्थित कार्यालयमा बिहानैदेखि भीड लागेको थियो । एसपी थापा भन्छन-'प्रमाणहरु नष्ट नहुन् भनी युनिटीका मुख्यालय मानिने टावरमा ताला लगाएका छौं ।'गृह मन्त्रालयले आफनै सूचना सयन्त्रबाट युनिटी इन्टरनेशनलका बारे विस्तृत विवरण संकलन गरेर अध्ययन गर्दा ठगी गरिरहेको खुल्न आएपछि अन्य सरकारी निकायको निर्णय प्रतिक्षा नगरी कारवाही प्रक्रिया अघि बढाएको थियो । युनिटीले 'बीमा र बैकिङ्ग कम्पनीको झै कारोवार गरिरहेको तर सम्बद्ध दुवै निकायबाट अनुमति नलिएको जस्ता दर्जनौ सरकारी नियमहरु मिचेको खुल्न आएको छ ।

सम्पत्ति रोक्काको पत्र

सञ्चालकहरुको नाममा रहेको घर जग्गा र सवारी साधान पनि रोक्का गर्न पनि अर्थ मन्त्रालयले यातायात व्यवस्था र मालपोत कार्यालयलाई सोमबार पत्र पठाएको छ ।सरकारले गरेको अनुसन्धानमा युनिटीले राष्ट्र बैंकको स्विकृति विना निक्षेप भन्दै करोडौ रकम उठाएको गरेको, विमा समितिको स्विकृति विना एस्योरेन्स भन्दै बीमा पोलिसी विक्री गरेको र सेवा र अन्य कर नतिरेको देखिएपछि यस्तो निर्णय भएको हो । राष्ट्र बैंकबाट स्विकृति प्राप्त संस्थालेमात्र निक्षेप संकलन गर्न पाउछन् ।
राजश्व अनुसन्धान विभाग, राष्ट्र बैंक र बीमा समितिका प्रतिनिधि सदस्य रहेको समितिले अनुसन्धान गरिरहेको छ । विभागका उपमहानिर्देशक राममणि दवाडीको संयोजकत्वको समितिको प्रारम्भिक अनुसन्धानमा तीन वटै कानून वेवास्ता गर्दै ठूलो परिमाणमा रकम संकलन गरेको ठहर गरेको हो । त्यस लगत्तै ८ जना सञ्चालकहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले मातहत प्रहरी कार्यालयहरुलाई आइतबार नै निर्देशन दिएको थियो ।युनिटीले पिरामिड शैलिको नेटवर्किङ व्यापारमार्फत सदस्य बनाउने भन्दै जनही करिब १५ हजार रुपैयाँ उठाउने गरेको थियो । स्वदेश र विदेशमा गरी ६ लाख ५० हजार सदस्य रहेको कम्प्नीका पदाधिकारीले बताउने गरेका छन् । यस आधारमा १० अर्ब रुपैया संकलन भइसकेको छ ।
'तर अनुसन्धानका क्रममा उनीहरुले प्रचारका लागि धेरै भनिएपनि ३ लाख ५० हजारमात्र सदस्य भएको बताए' अर्थ सम्बद्ध श्रोतले भन्यो । यस आधारमा पनि रकम झण्डै सवा ५ अर्ब रुपैया हुन्छ । विभिन्न दलका राजनीतिकर्मी, सरकारी कर्मचारी लगायतलाई प्रभावमा पारी व्यवसाय विस्तार गरिरहेको थियो ।सदस्यलाई निक्षेप भन्ने रसिद दिने गरेको पाइएको पनि सम्बद्ध श्रोतले बतायो । 'फिना कोअपरेटिभमा निक्षेप भनेर जम्मा गरेपनि व्यक्तिको नाममा खाता देखिएन' उनले भने 'संस्थाको नाममा मात्र खाता छ ।' संस्थाको नामको खातामा करिब ८ करोड रुपैया देखिएपनि पछिल्लो केही दिनमात्र मात्र डेढ करोड झिकेको समेत उनले बताए । 'अरु रकम भेटिएको छैन, थप अनुसन्धान भइरहेको छ ।' १५ हजारमध्ये १३ हजार निक्षेप भनेर र २ हजार रुपैया छुटमा स्वास्थ्य जाँच तथा एस्योरेन्स भन्दै बीमा रकम लिने गरेका छन् । संस्थाको वासलात र अन्य वित्तिय विवरण अध्ययन गर्न बाकी रहेको पनि उनले बताए ।
'कतिपय जिल्ला शिक्षा कार्यालयमा तलब लिन जाने शिक्षकहरुलाई लेखापालहरुले नै सदस्य बन्न दवाव दिने गरेकेा समेत पाइयो' अर्का एक अधिकारीले भने - 'यो जालो धेरै भित्र सम्म पुगेको हुनु पर्छ ।'नियमति आम्दानी हुने आधार नभई सर्वसाधारणबाट उठाएको रकमबाट अन्तर्राष्ट्रिय उडानको महात्वाकांक्षी योजनापछि यो संस्था धेरैको चासोमा परेको थियो । केही अघिमात्र पर्यटन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको थियो । त्यस लगत्तै अर्थ मन्त्रालयले आन्तरिक रुपमै छानविन थालेको थियो । विभिन्न दलका नेता र सरकारका जिम्मेवार अधिकारीहरुको शुभकामना मन्तब्य, फोटो, भिडियोमार्फत देशमा र विदेशमा मानिसलाई प्रभाव पार्ने गरेको समेत खुल्न आएको छ ।

पक्राउको सूचि

१ स्याङ्गजा फेदीखोला ६ का प्रसाद भनिने काशीराम गुरुङ्ग ।

२ पर्वत, अर्थरडाडा ३ का कृष्णबहादुर क्षेत्री

३ पर्वत, अर्थरडाडा ३ का बिष्णबहादुर क्षेत्री

४ वाग्लुङ्ग, वालिङ्ग ३ का महेन्द्र केशी

५ झापा, चकचकी ५ का नेत्र राजवशी

६ नवलपरासी, सुनवल २ का इन्द्रबहादुर विश्वकर्मा

७ चितवन दिव्यनगर ६का भिमबहादुर गुरुङ्ग

८तेह्रथुम, मोराहाङ्ग ५ का विश्वनाथ गौतम

कहाँ गयो युनिटीले जम्मा पारेको अर्बौ रुपैयाँ ?

साढे ६ लाख सदस्यबाट ६ अर्बभन्दा बढी पैसा उठाउने युनिटी लाइफ इन्टरनेसनलले स्वदेशी बैंक तथा वित्तीय संस्थामा पैसा बचत गरेको नेपाल राष्ट्र बैंकले पाउन सकेको छैन। राष्ट्र बैंक स्रोतका अनुसार संकलित रकम कम्पनीका सञ्चालकले विदेश पुर्‍याएको अनुमान छ। गैरकानुनी रुपमा व्यापार गरिरहेको युनिटीका सञ्चालकको खाता रोक्का गरी सरकारले कम्पनीको नाममा रहेको रकमबारे अनुसन्धान गरेको थियो।
कम्पनीले ग्राहक (सदस्य)बाट उठाएको रकम फिना वर्ल्ड सहकारी संस्थामा जम्मा गरेको दाबी गरेको थियो। सरकारी अध्ययनअनुसार यो सहकारी संस्थामा अहिले सात करोड रुपैयाँ मात्र भेटिएको छ। स्रोतका अनुसार कम्पनीले मुद्दति खातामा ८० करोड रुपैयाँ जम्मा गरेको थियो। मुद्दति खातालाई चल्तीमा परिवर्तन गरेर ७३ करोड रुपैयाँ झिकेको पाइएको राष्ट्र बैंकका एक अधिकारीले नागरिकलाई जानकारी दिए। अध्ययनमा अहिलेसम्म कम्पनीको वासलात (हिसाब किताब ) मा २० करोड रकम मात्र देखिएको छ,' ती अधिकारीले भने।
उनका अनुसार कम्पनीका सञ्चालकले सदस्यबाट उठाएको पैसा कम्पनीका नाममा नराखी व्यक्तिगत रुपमा लगेको शंका गरिएको छ। यतिधेरै ग्राहकको रकम उठाएको कम्पनीको हिसाबकिताब २० करोड मात्र देखिनुले पैसा विदेश पुर्‍याइएको देखिन्छ,' उनले भने।
कम्पनीले दिएको ग्राहकको तथ्यांक र सरकारी अध्ययनमा फरक देखिएको छ। युनिटीले सरकारी अधिकारीसँग तीन लाख २४ हजार ग्राहक रहेको जानकारी गराएको थियो। सरकारी अध्ययनमा कम्पनीका ३ लाख ६४ हजारमात्र ग्राहक भेटिएका छन्। ती ग्राहकलाई समेत सबैलाई बिल भरपाई नदिई ठग्ने नियत कम्पनीको देखिएको स्रोतले बताएको छ।
कम्पनीले तीमध्ये साढे दुई लाखलाई बिल भर्पाइ दिएको देखिएको छैन। कम्पनीका अधिकारीले कम्प्युटर बिलिङ दिने भन्दै ग्राहकलाई पन्छाउने गरिएको रहेछ,' ती अधिकारीले भने। कम्पनीको कारोबार र ग्राहकबाट संकलन भएको रकम हिनामिना भएकाले कम्पनीका लेखापरीक्षकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिने भएको छ। लेखापरीक्षकले कम्पनीको हिसाबकिताब दुरुस्त राखेको देखिएको छैन,' स्रोतले भन्यो, कम्पनीका लेखापाललाई नियन्त्रणमा लिएर यथार्थ बिवरण ल्याउने प्रयास गरिनेछ।'
सरकारले कम्पनीका संचालक विरुद्ध ठगी मुद्दा र निक्षेप अपचलनको आरोपमा कारवाही बढाउने भएको छ। सरकारले गैरकानुनी रुपमा नेटवर्क व्यापार गरिरहेको युनिटी लाइफ इन्टरनेशनलका संचालकहरुको बैंक खाता, चल अचलसम्पत्ति रोक्का र विदेश जान रोक लगाइसकेको छ।सरकारले सोमबार कम्पनीका अध्यक्ष काशीप्रसाद गुरुङ, प्रबन्ध निर्देशक बिष्णुबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी, नेत्र राजवंशी, इन्द्रबहादुर विश्वकर्मा, भीमबहादुर गुरुङ र विश्वनाथ गौतमको बैंक खातादेखि विदेश जान रोक लगाएको थियो। एस्युरेन्स योजनाअन्तर्गत कम्पनीले आफ्ना ग्राहक (जसलाई ऊ सदस्य' भन्छ) सँग प्रतिव्यक्ति १५ हजार रुपैयाँ उठाउँदै आएको थियो। यसवापत् ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा र १ लाख रुपैयाँको स्वाभाविक मृत्यु बीमा सुविधा दिने उसले घोषणा गरेको थियो।

सञ्चालकविरुद्ध ठगी मुद्दा
सरकारले युनिटीका सञ्चालकविरुद्ध जिल्ला अदालत ललितपुरमा मंगलबार ठगी मुद्दा दायर गरेको छ। कम्पनीका सञ्चालकद्वय भीम गुरुङ र नेत्रलाल राजवंशीविरुद्ध मुद्दा दायर गरिएको हो। गुरुङ र राजवंशीलाई प्रहरीले सोमबार गिरफ्तार गरेको थियो। मुद्दामा कम्पनीले गैरकानुनी रुपमा निक्षेप संकलन गरेको जिकिर गरिएको छ।

देशभरका युनिटी लिडर काठमाडौँका गेस्टहाउसमा
नेटवर्किङ मार्केटिङको आवरणमा गैरकानुनी गतिविधि गरेको सार्वजनिक भएपछि विभिन्न जिल्लामा छरिएका युनिटीका लिडरहरु काठमाडौंमा भेला भएका छन्।सदस्यहरुले रकम फिर्ताको माग गर्दै कार्यालय घेराउ गर्न थालेपछि उनीहरु जिल्लास्थित कार्यालय बन्द गरेर काठमाडौं भित्रिएका हुन। स्रोतका अनुसार युनिटीका लिडरहरु उपत्यकाको सुन्धारा, ठमेल क्षेत्रको गेष्ट हाउस छरिएर बसेका छन्।
ठमेलमा भेटिएका एक लिडरले पैसा फिर्ता माग्न आउने सदस्यहरुको संख्या बढेपछि जिल्लामा बस्नै नसक्ने अवस्था भएकाले काठमाडौं आएको बताए। नाम उल्लेख गर्न नचाहने ति लिडरले भने। उनीहरु सदस्यको रकम कसरी फिर्ता दिने भन्ने विषयमा छलफल गर्न काठमाडौं आएपनि मुख्य सञ्चालकहरु सम्पर्क बाहिर रहेकाले अन्यौलमा परेका छन्। केही सञ्चालकहरु फोनमा भेटिने गरेपनि उनीहरुले पैसा फिर्ता गराउने भन्दा पनि '२/३ दिन पर्ख सबै सेटल हुन्छ' भनेर आश्वासन दिने गरेको ति लिडरले बताए।
स्रोतका अनुसार काठमाडौंमा जम्मा भएका लिडरहरुलाई काशिराज र विष्णुले माथिल्लोस्तरमा सहमतीका लागि प्रयास जारी रहेको भन्दै सहमती हुने दावी गर्ने गरेका छन्। विश्वस्तस्रोतका अनुसार उनीहरुले लिडरहरुलाई समस्या समाधानका लागि उपप्रधानमन्त्री विजयकुमार गच्छद्धार र कानुन मन्त्री प्रेमबहादुर सिंहसँग छलफल भईरहेको र तीन/चार दिनमा सबै समस्या समाधान हुने आश्वासन दिने गरेका छन्।
उनीहरले लिडरहरुलाई आफ्नो पक्षमा माहौल निर्माण गर्न निर्देशनदिंदै आन्तरिक छलफलवाट समस्या समाधान नभए सदस्यहरु परिचालन गरी राजनीतिक दवाव दिने तयारी गरेको बताएका छन्। काशिराजको निर्देशन उदृत गर्दै स्रोतले भन्यो'डिल मिलेन भने प्रधानमन्त्रीको कार्यालय घेर्न जानुपर्छ तयारी गरेर बस्नुहोला।'
युनीटी लाईफ इन्टरनेशनका सञ्चालकहरुले संस्थामा जम्मा भएको रकमवाट ब्यक्तिगत नाममा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको खुलेको छ। युनीटीकै विश्वस्तस्रोतवाट प्राप्त जानकारी अनुसार युनिटीका सञ्चालकहरुले सदस्यहरुवाट संकलीत रकमवाट ब्यक्तिगत रुपमा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका छन्।
विश्वस्त स्रोतका अनुसार युनिटीका सञ्चाकलहरुले भक्तपुरको दुवाकोटमा एक सय १० रोपनी जग्गा किनेका छन् भने काठमाडौंको साङ्गला गाविसमा ६५ रोपनी जग्गा खरिद गरेका थिए। पर्वत, दमौली, दाङ, बैतडी, बुटवल, काठमाडौंको सतुंगल, धादिङको गजुरी, पोखरा, चीतवन र हेटौंडामा जग्गा खरिद गर्ने भन्दै सञ्चाकहरुले युनिटीको कोषवाट रकम निकालेका छन्। तर, ति सबै जग्गाहरु युनिटीको नाममा खरिद नगरी सञ्चालकको ब्यक्तिगत नाममा खरिद गरेको स्रोतले बतायो।
गैर कानुनी रुपमा बैंकिग, वीमा र स्वास्थ्य योजना सञ्चालन गरी ठगी गरेको अभियोगमा गृहले युनीटीका अध्यक्ष काशीराज गुरुङ (प्रसाद), प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, अर्थ निर्देशक भीम गुरुङ, प्रशिक्षण निर्देशक कृष्णबहादुर क्षेत्री, डिर्पाटमेन्टल स्टोर निर्देशक इन्द्र विश्वकर्मा, आइटी निर्देशक नेत्र राजवंशी, महेन्द्र केसी र विश्वनाथ गौतमको नाममा पक्राउ गर्न निर्देशन दिएको थियो।
प्रहरीले सञ्चालकमध्येका अर्थ निर्देशक भीम गुरूङ र ट्राभल निर्देशक नेत्रलाल राजवंशीलाई मात्र पक्राउ गरेको छ। प्रहरीले पक्राउ आदेश जारी गरेका ६ जनानै काठमाडौंमै रहेको स्रोतले बतायो। स्रोतले 'उनीहरु भित्री शहरमा लुकेर बसेका छन्। प्रहरीले प्रयास गर्ने हो भने तत्काल पक्राउ पर्न सक्छन्, तर किन हो पक्राउ गर्ने प्रयास गरे झैं लागेन।'
काठमाडौं परिसरका प्रमुख रमेश खरेलले भने युनिटी सञ्चाकहरुको खोजीमा प्रहरी सक्रिय रहेको दावी गरे। उनले भने, 'उनीहरु उपत्यकावाट बाहिरिएका छैनन्, उनीहरु प्रहरीकै घेराउमा छन्।'
स्रोतका अनुसार युनिटी सञ्चालनमा मुख्य आठ जना देखिएपनि सम्पूर्ण आर्थिक कारोवार काशिराज र विष्णुबहादुर हुन। उनीहरुले आफ्ना विश्वसनिय पांच जना सहयोगी मार्फत युनिटीको नाममा संकलन भएको रकम ब्यक्तिगत रुपमा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको ति स्रोतले बताए। उनीहरुको नाममा पक्राउ आदेश जारी नभएकोमा युनिटीका लिडरहरुले नै कार्वाही गर्ने निकायप्रति आशंका ब्यक्त गरे।
विश्वस्त स्रोतका अनुसार काशिराज र विष्णुले आर्थिक कारोवारमा घनश्याम बस्ताकोटी, भानु कँडेल, श्रीमात्मा श्रेष्ठ, भुपेन्द्र मल्ल र दीपक भट्टराई हुन। भानु काशिराजका मुख्य सहयोगी हुन। बस्ताकोटीले पोखरा र हेटौडामा काशिराजको जग्गा प्लटिङको कारोवारको जिम्मा लिएका थिए। भानु विष्णुका मुख्य सहयोगी हुन। मध्यमाञ्चल प्रमुखका रुपमा कार्यरत उनी नाताले विष्णुका मित हुन। दिपक विदेश विभाग प्रमुख हुन। उनले विदेशमा कार्यरत नेपालीहरुसँग रकम संकलन गरेर हुन्डीमार्फत बैदेशीक मुद्रा नेपाल भित्र्याउन सक्रिय थिए। भुपेन्द् मल्ल युनिटी एयरलाईन्सका प्रमुखका रुपमा कार्यरत थिए।
'गृहले पक्राउ आदेश जारी गरेकामध्ये काशिराज र विष्णु मात्र प्रमुख ब्यक्ति हुन। उनका अन्य सहयोगी पक्राउ नगर्ने हो भने सरकारले युनीटीको अनुशन्धानमा खाली हात मात्र हुन्छ ' युनिटीका बारेमा जानकार स्रोतले भन्यो।
स्रोतले काशिराजले आफ्नी श्रीमती विनिता गुरुगंको नाममा आर्थिक कारोवार गर्ने भएकाले उनलाई समेत अनुशन्धानको दायरामा ल्याउनुपर्ने बतायो। काशिराजको जेठी श्रीमती हङ्गकङ्गमा रहेको र उनी आफैं पनि हङ्गकङ्ग र बेलायतको कार्ड होल्डर रहेकाले उनले ति राष्ट्रहरुमा समेत युनटीको रकम लगेर राखेको स्रोतले बतायो।
स्रोतका अनुसार युनिटीका सञ्चाकहरुले प्रारम्भमा फिना वल्ड सहकारी संस्थामा रकम जम्मा गरी पछि पुल्चोकमा रहेको एभरेष्ट बैंक र ठमेलमा रहेको ईनभेष्टमेन्ट बैंकमा जम्मा गर्ने गरेका थिए। एभरेष्ट र इन्भेष्टमेन्ट बैंकमा ठुलो रकम जम्मा गरिने गरिएको थियो। स्रोतका अनुसार युनिटी एयरलाईन्स खरिदका लागि करिव ८७ करोड रकम एभरेष्ट बैंकमा जम्मा गरिएको काशिराजले दावी गर्ने गरेका थिए। जाउलाखेलमा रहेको युनिटीको मुख्यालय जग्गा भाडामा लिएर भवन बनाएको समेत खुलेको छ। '३५ वर्षका लागि जग्गा भाडामा लिएर भवन आफैंले बनाएको हो ' स्रोतले भन्यो।
युनिटीमा जम्मा भएको सदस्यको रकम निकालेर ब्यक्तिको नाममा ग्रामिण विकास बैंकको ५२ प्रतिशत शेयर खरिद गरेको समेत खुलेको छ। स्रोतका अनुसार प्रारम्भमा बैंकको पूर्ण स्वामित्व खरिद गरिएको दावी गरिएपनि केवल ५२ प्रतिशत स्वामित्व मात्र खरिद गरिएको थियो। युनिटीमा बैंकका बारेमा छलफल हुँदा काशिराजले अहिले ब्यक्तिको नाममा लगानी रहेको र चाँडै बैंकको नाम परिर्वतन गरी संस्थाको नाममा स्वामित्व ल्याउने दावी गर्दै आएका थिए।
नागरिक न्युजबाट

No comments: