काठमाडौं जेठ तोकिएको समयमा संविधान नबन्ने निश्चित भएपछि हास्य टेलीशृखला मेरी बास्सैका निर्देशक तथा अभिनेताद्वय केदार घिमिरे (माग्नेबूढा) र सीताराम कट्टेल (धुर्मुस) ले मंगलबार कपाल-दाह्री खौरेर सेतो वस्त्र धारण गरी संविधानको शोक मनाएका छन् । संविधान बनाउने वाचा गरेर जनताबाट चुनिएर आएका ६०१ जना सभासद्ले समयमा संविधान नबनाएकाले उनीहरूको असक्षमताप्रति दुःख मनाउन यसो गरिएको उनीहरूले बताए । अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली) ले पनि सेतो वस्त्र धारण गरी एक छाक छोडिन् । केदारले एक वर्षअघि नै तोकिएको समय जेठ १४ भित्र संविधान बनाउन दबाब दिने उद्देश्यले संविधान नबनेसम्म दाह्री-कपाल नकाट्ने प्रतिबद्धता गरेका थिए । तर, सांस्कृतिक कार्यक्रमको सिलसिलामा इजरायल जाँदै गर्दा दिल्ली अध्यागमनले उनलाई आतंकवादीको आशंकामा रोकेपछि बाध्य भएर दाह्री काटेका थिए । पछि मुलुक फर्किएपछि भने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका उनलाई उनका जोडी सीतारामले पनि साथ दिएका थिए ।
मंगलबार यो जोडीले सीतारामनिवास ललितपुरको खुमलटारमा केस मुन्डन गरी टाउकोमा सेतो टालो बाँधेर शोक मनायो ।
केदार र सीतारामको केस मुन्डन होउन्जेल मेरी बास्सैका अर्का कलाकार सुरज चापागाईं (बान्द्रे) ले भने एउटा खुट्टो उचालेर जनआन्दोलनमा घाइते भएकाहरूको पीडाबोध गरेका थिए । 'संविधान बनाउन पठाएका ६०१ सभासद्ले जनताको पसिनामा मोज गर्नुबाहेक अरू केही गरेनन्, 'आक्रोशित हुँदै केदार र सीताराम सँगसँगै बोले, 'संविधान बनाउनभन्दा पनि कुर्सीको लुछाचुँडीमै लागेकाले संविधान बनाउन दबाब दिनका लागि हामीले यस्तो प्रतिबद्धता जनाएका थियौँ । सारा नेपाली जनताको आशा त्यसै तुहियो । त्यसैले यी ६०१ सभासद् पदको किरिया गरेका हौँ ।'
आफूहरूले पहिला निर्धारित मितिमा संविधान नबने पशुपतिमा गएर कुशको ६०१ सभासद्को पुत्ला बनाएर दाहसंस्कार गर्ने भने तैपनि परिवर्तित अवस्थालाई विचार गरी त्यसो नगरिएको उनीहरूको कथन छ । नेताहरू सत्ताकै खेलमा केन्दि्रत भएकाले उनीहरूलाई जिम्मेवारी बोध गराउन कपाल मुन्डन गरेर शोक मनाउनु परेको सीतारामले बताए । आफ्ना श्रीमान् (सीताराम) कै अगाडि सेतो वस्त्र लगाएकी कुञ्जनाले आफ्नो लागि पतिभन्दा देश ठूलो भएको बताइन् । उनले भनिन्, 'नेताहरूको यस्तै बाँदरे प्रवृत्तिका कारण भोलि मातृभूमि नै नरहे पतिको के काम ?' मनोरञ्जनका अलावा देश, समाज र राष्ट्रप्रति पनि कलाकारको उत्तिकै दायित्व हुने भएकाले आफूहरूले यसो गरेको कथन उनीहरूको छ ।
No comments:
Post a Comment