Wednesday, June 23, 2010

विदेशमा जाने कामदारको हकहितका लागि उठाएको रकम श्रममन्त्री द्वारा आफुखुसी खर्च

 काठमाडौं, असार  - वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि उठाएको रकम श्रममन्त्री मोहम्मद अफताब आलमले आफुखुसी खर्च गरेका छन्। विदेश जाने प्रत्येक कामदारबाट एक हजारका दरले उठाएको रकम कल्याणकारी कोषमा जम्मा हुन्छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कोषको रकम परिचालन गर्छ।
'कोषमा जम्मा भएको रकम श्रममन्त्री आलमको गाडी इन्धनदेखि कार्यकक्षको सोफा किन्न खर्च गरिएको छ,' बोर्ड स्रोतले भन्यो 'मन्त्रीको गाडी मर्मतका लागि २ लाख ८६ हजार, इन्धनका लागि २ लाख ९१ हजार र कार्यकक्षमा सोफाका लागि २ लाख ५० हजार खर्च भएको छ।'
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीलाई इन्धन खर्च वापत एकमुष्ठ नगद रकम दिने गरिन्छ। 'प्रधानमन्त्री कार्यालयबाट एकमुष्ठ रकम पाउदा पाउँदै थप रकम लिनु अनियमितता हो,' कार्यालयका एक अधिकारीले भने।
'मन्त्रालयको सोफा फेर्न त्यही प्रशासनिक खर्चबाट मिलाउनुपर्ने हो। तर, खुलमखुल्ला कोषको रकम प्रयोग भएको छ,' ती अधिकारीले भने।
'विदेशमा श्रम र पसिना खर्चिन गएका कामदारबाट उठाएको रकममा मन्त्रीको रजाई भइरहेको छ,' बोर्डका ती अधिकारीले भने, 'कामदारको पैसा उनीहरुको हकहितमा प्रयोग हुनुपर्ने हो तर, मन्त्रीले आफुखुशी प्रयोग गरिरहेका छन्।'
वैदेशिक रोजगार ऐनअनुसार कोषमा जम्मा भएको रकम बैधानिक तबरले विदेश गएका कामदार अलपत्र परे उद्धार गर्ने, शब ल्याउन पहल गर्ने, तोकिएको समयमा मुत्यु भए क्षतिपूर्ति दिने र रोजगार गन्तब्यको प्रवर्द्धन गर्ने उद्देश्य छ।
तर कोषको रकम कामदारको हकहितमा भन्दा मन्त्रीले आफुखुशी खर्च गर्नु उद्देश्यको पा्रवधान विपरित रहेको ती अधिकारीले बताए।
स्रोतका अनुसार प्रवर्द्धनका नाममा अनावश्यक रुपमा विभिन्न मुलुक घुम्न पनि रकम खर्च गरिएको छ। ती अधिकारीका अनुसार मन्त्री आलमले इजरायल, युनाईटेड अरब इमिरेट्स(युएई), कतार, जापान मुलुकको भ्रमण गरिसकेका छन्। इजरायल सरकारको कुनै निम्तो बिना आलम भ्रमणमा गएका थिए। इजरायल सरकारले नेपाली कामदारबाट बढी रकम लिने गरेको भन्दै कामदार जान प्रतिवन्ध लगाएको थियो। मन्त्रीसहितको टोली गए पनि अहिलेसम्म इजरायल नेपालीका लागि खुल्ला भएको छैन। कोषमा भएको रकमको पारदर्शीताका बारेमा विभिन्न समयमा प्रश्न उठ्ने गरेको थियो। कोषको आय/ब्ययभारको लेखापरीक्षण समेत अहिलेसम्म हुन सकेको छैन।
बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले वैधानिक तवरले कोषको रकम प्रयोग भएको बताए। 'हामीले वैधानिक तवरबाट रकम खर्च गरिरहेका छौ,' उनले नागरिकसँग भने, 'विदेश रोजगार गन्तब्य प्रवर्द्धनका लागि जाने पनि मन्त्रीपरिषदको निर्णयबाट हो। अन्य इन्धन खर्च लगायत कार्य पनि मन्त्रालयको निर्णय अनुसार हुने गरेको छ।'
उनले लेखापरीक्षणका लागि पहल भइरहेको जानकारी दिए। सरकारले २०६५ माघदेखि कोषको जिम्मा बोर्डलाई दिएको र त्यो भन्दा अगाडीको रकम वैदेशिक रोजगार विभागले नदिएकाले लेखापरीक्षणमा समस्या देखिएको उनले बताए।
बोर्डका अनुसार अहिलेसम्म ८ करोड ४५ लाख खर्च भएको छ। गतवर्ष २ करोड ११ लाख र यो वर्ष ६ करोड ३४ लाख खर्च भएको बोर्डले जनाएको छ। अहिले कोषमा रहेको
४५ करोड ३८ लाख विभिन्न वित्तीय संस्थामा राखिएको छ। वित्तीय संस्थामा राखेकोबाट यो वर्ष ३ करोड १८ लाख ब्याज आम्दानी प्राप्त भएको बोर्डले जनाएको छ।
कोषमा म्यानपावर कम्पनीको धरौटीको ब्याज, संस्था दर्ता, नविकरण, जरीवाना, अभिमूखीकरण दर्ता र नविकरणको रकम समेत जम्मा हुने गर्छ।
कोषको बिबरण बुझाउन निर्देशन
प्रधानमन्त्री कार्यालयले कल्याणकारी कोषमा जम्मा भएको रकमको यथार्थ जानकारी गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबार पत्र पठाइ निर्देशन दिएको हो।
'कोषमा भएको रकम के कसरी खर्च भएको छ। त्यसको यथार्थ बिबरण पेश गर्न आग्रह गछौ,' कार्यालयले पठाएको पत्रमा भनिएको छ।

विहे गर्न नामेनेको झोंकमा भिनाजु द्वारा सालीको छोराको हत्या

र्लाही, अषाढ  पतिको मृत्यु भइसकेकी सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले मंगलबार बेलुका सालीको १ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेका छन् । भक्तिपुर गाबिस-६ का हुलास माझीले छिमेकमै बस्ने साली ललितादेवीको काखको छोरा रोशनको हत्या गरेका हुन् । मजदुरी गरेर ५ वर्षीय एक छोरी र काखको छोरा पालन पोषण गर्दै आएकी ललितादेवीले आफ्नै भिनाजुले आफूमाथि बज्रपात गर्लान भन्ने सोचेकी समेत थिइनन् ।
काखे छोरा हेर्ने जिम्मा छोरीलाई दिएर जिविकोपार्जनका लागि मजदुरीका लागि अर्काको धान रोप्न गएकी ललिता र्फकंदा छोराको हत्या भइसकेको थियो ।
'मेरै भिनाजुले छोरीको हातबाट खोसेर खेलाउँछु भनेर लगेको रहेछ,' बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा रुंदै पुगेकी ललिताले भनिन, 'जंगल जस्तो एकान्त ठाउँमा लगेर घाँटी थिचेर मारेछ ।'
घर पुगेर छोरा खोज्दा नभेटेपछि छोरीमार्फत हुलासले लगेको थाहा पाएको ललिताले बताइन् । राती अबेर सम्म खोज्दा पनि नभेटेपछि गाउँलेले हुलासलाई समातेर कुटपिट गरेका थिए । कुटपिट लगत्तै उनले हत्या गरेर फ्यालेको स्थान देखाएका हुन् । मृतक बालक फेला पर्नासाथ गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले हत्या आरोपमा हुलासलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनले हत्या आफूले गरेको स्वीकारेका छन् ।
हिरासतमा रहेका हुलासले सालीले बिहे गर्न नमानेको रिसमा रोशनको हत्या गरेको कान्तिपुरलाई बताए । 'आबेशमा आएर हत्या गरें,' उनले भने, 'बच्चाको कारण कुनै समस्या थिएन तर, त्यतिखेर दिमागले काम गरेन् ।'
सन्काहा स्वभाबका हुलास गाउँमा झै झगडा र कुटपिट गर्ने ब्यक्तिको रुपमा चिनिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्ष्ाक लालबाबु साहले पक्राउ लगत्तै हुलासले बालक हत्या स्वीकारे र कर्तब्य ज्यानमा कारबाही चलाइने बताए ।  कान्तिपुर

Tuesday, June 01, 2010

माओवादीबाट सहमति उल्लंघन: एमाले


काठमाडौ, जेष्ठ १८ -
एमाले स्थायी कमिटीले संविधानसभाको कार्यकाल विस्तार गनुअघि तीन दलबीच भएको समझदारी माओवादीबाट उल्लंघन भएको निस्कर्ष निकालेको छ ।
पार्टी स्थायी कमिटीको मंगलबार भएको बैठकले शान्ति प्रक्रियाका विषयमा हुने सहमति र राष्ट्रिय सरकार गठन प्रक्रियाको सुरुवात सँगसँगै हुनुपर्नेमा जोड दिएको हो ।
बैठकमा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी ओलीले तीन दलबीच तीनबुँदे सहमति निर्माणको प्रक्रियाबारे जानकारी गराएका थिए ।
स्रोतका अनुसार अध्यक्ष खनालले शान्ति र संविधान निर्माणसहितको राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताए भने ओलीले प्रधानमन्त्रीलाई २४ घन्टामा राजीनामा गर्न माओवादीले दिएको अल्टिमेटम सहमतिविपरीत भएको बताए ।
ओलीले सहमतिबारे माओवादीले अपव्याख्या गरी प्रधानमन्त्रीको राजीनामालाई सर्त बनाएको टिप्पणी गरे । 'शान्ति प्रक्रियाका विषयमा दुई दिनमै सहमतिमा पुग्न सकिन्छ भन्ने पुष्पकमल दाहालको प्रस्ताव थियो,' ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, 'दुई दिनमा सकिँदैन पाँच दिनमा गरौं भन्ने कुरा भएको हो । शान्ति प्रक्रियाका विषयमा सहमति नभई राजीनामा गर्ने कुरा भएको होइन ।' उनले सहमतिको एक र तीन नम्बर बुँदा अन्तरसम्बन्धित भएकोमा जोड दिएका थिए ।
बैठकमा महासचिव ईश्वर पोखरेलले माओवादीसँग भएको पछिल्लो वार्ताबारे जानकारी गराएका थिए । 'संविधासभा विस्तारपछि बसेको तीन दलको पहिलो बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई छिटो टुंग्याउन माओवादी अध्यक्ष दाहाल तयार देखिएका थिए,' पोखरेलको भनाइ उद्धृत गर्दै बैठकका एक सदस्यले भने, 'लडाकुको संख्या र मापदण्डबारे ठोस प्रस्तावसहित अर्को बैठक गर्ने सहमतिबाट माओवादी पछि हटेको छ ।'
पछिल्लो पटक माओवादीले प्रधानमन्त्रीले राजीनामा गर्ने समझदारी कांग्रेस-एमालेले उल्लंघन गरेको आरोप लगाउँदै माओवादीले उनीहरूसँग वार्तामा नबस्ने घोषणा गरेको छ ।