Wednesday, June 23, 2010

विदेशमा जाने कामदारको हकहितका लागि उठाएको रकम श्रममन्त्री द्वारा आफुखुसी खर्च

 काठमाडौं, असार  - वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि उठाएको रकम श्रममन्त्री मोहम्मद अफताब आलमले आफुखुसी खर्च गरेका छन्। विदेश जाने प्रत्येक कामदारबाट एक हजारका दरले उठाएको रकम कल्याणकारी कोषमा जम्मा हुन्छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कोषको रकम परिचालन गर्छ।
'कोषमा जम्मा भएको रकम श्रममन्त्री आलमको गाडी इन्धनदेखि कार्यकक्षको सोफा किन्न खर्च गरिएको छ,' बोर्ड स्रोतले भन्यो 'मन्त्रीको गाडी मर्मतका लागि २ लाख ८६ हजार, इन्धनका लागि २ लाख ९१ हजार र कार्यकक्षमा सोफाका लागि २ लाख ५० हजार खर्च भएको छ।'
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीलाई इन्धन खर्च वापत एकमुष्ठ नगद रकम दिने गरिन्छ। 'प्रधानमन्त्री कार्यालयबाट एकमुष्ठ रकम पाउदा पाउँदै थप रकम लिनु अनियमितता हो,' कार्यालयका एक अधिकारीले भने।
'मन्त्रालयको सोफा फेर्न त्यही प्रशासनिक खर्चबाट मिलाउनुपर्ने हो। तर, खुलमखुल्ला कोषको रकम प्रयोग भएको छ,' ती अधिकारीले भने।
'विदेशमा श्रम र पसिना खर्चिन गएका कामदारबाट उठाएको रकममा मन्त्रीको रजाई भइरहेको छ,' बोर्डका ती अधिकारीले भने, 'कामदारको पैसा उनीहरुको हकहितमा प्रयोग हुनुपर्ने हो तर, मन्त्रीले आफुखुशी प्रयोग गरिरहेका छन्।'
वैदेशिक रोजगार ऐनअनुसार कोषमा जम्मा भएको रकम बैधानिक तबरले विदेश गएका कामदार अलपत्र परे उद्धार गर्ने, शब ल्याउन पहल गर्ने, तोकिएको समयमा मुत्यु भए क्षतिपूर्ति दिने र रोजगार गन्तब्यको प्रवर्द्धन गर्ने उद्देश्य छ।
तर कोषको रकम कामदारको हकहितमा भन्दा मन्त्रीले आफुखुशी खर्च गर्नु उद्देश्यको पा्रवधान विपरित रहेको ती अधिकारीले बताए।
स्रोतका अनुसार प्रवर्द्धनका नाममा अनावश्यक रुपमा विभिन्न मुलुक घुम्न पनि रकम खर्च गरिएको छ। ती अधिकारीका अनुसार मन्त्री आलमले इजरायल, युनाईटेड अरब इमिरेट्स(युएई), कतार, जापान मुलुकको भ्रमण गरिसकेका छन्। इजरायल सरकारको कुनै निम्तो बिना आलम भ्रमणमा गएका थिए। इजरायल सरकारले नेपाली कामदारबाट बढी रकम लिने गरेको भन्दै कामदार जान प्रतिवन्ध लगाएको थियो। मन्त्रीसहितको टोली गए पनि अहिलेसम्म इजरायल नेपालीका लागि खुल्ला भएको छैन। कोषमा भएको रकमको पारदर्शीताका बारेमा विभिन्न समयमा प्रश्न उठ्ने गरेको थियो। कोषको आय/ब्ययभारको लेखापरीक्षण समेत अहिलेसम्म हुन सकेको छैन।
बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले वैधानिक तवरले कोषको रकम प्रयोग भएको बताए। 'हामीले वैधानिक तवरबाट रकम खर्च गरिरहेका छौ,' उनले नागरिकसँग भने, 'विदेश रोजगार गन्तब्य प्रवर्द्धनका लागि जाने पनि मन्त्रीपरिषदको निर्णयबाट हो। अन्य इन्धन खर्च लगायत कार्य पनि मन्त्रालयको निर्णय अनुसार हुने गरेको छ।'
उनले लेखापरीक्षणका लागि पहल भइरहेको जानकारी दिए। सरकारले २०६५ माघदेखि कोषको जिम्मा बोर्डलाई दिएको र त्यो भन्दा अगाडीको रकम वैदेशिक रोजगार विभागले नदिएकाले लेखापरीक्षणमा समस्या देखिएको उनले बताए।
बोर्डका अनुसार अहिलेसम्म ८ करोड ४५ लाख खर्च भएको छ। गतवर्ष २ करोड ११ लाख र यो वर्ष ६ करोड ३४ लाख खर्च भएको बोर्डले जनाएको छ। अहिले कोषमा रहेको
४५ करोड ३८ लाख विभिन्न वित्तीय संस्थामा राखिएको छ। वित्तीय संस्थामा राखेकोबाट यो वर्ष ३ करोड १८ लाख ब्याज आम्दानी प्राप्त भएको बोर्डले जनाएको छ।
कोषमा म्यानपावर कम्पनीको धरौटीको ब्याज, संस्था दर्ता, नविकरण, जरीवाना, अभिमूखीकरण दर्ता र नविकरणको रकम समेत जम्मा हुने गर्छ।
कोषको बिबरण बुझाउन निर्देशन
प्रधानमन्त्री कार्यालयले कल्याणकारी कोषमा जम्मा भएको रकमको यथार्थ जानकारी गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबार पत्र पठाइ निर्देशन दिएको हो।
'कोषमा भएको रकम के कसरी खर्च भएको छ। त्यसको यथार्थ बिबरण पेश गर्न आग्रह गछौ,' कार्यालयले पठाएको पत्रमा भनिएको छ।

No comments: