Tuesday, June 01, 2010

माओवादीबाट सहमति उल्लंघन: एमाले


काठमाडौ, जेष्ठ १८ -
एमाले स्थायी कमिटीले संविधानसभाको कार्यकाल विस्तार गनुअघि तीन दलबीच भएको समझदारी माओवादीबाट उल्लंघन भएको निस्कर्ष निकालेको छ ।
पार्टी स्थायी कमिटीको मंगलबार भएको बैठकले शान्ति प्रक्रियाका विषयमा हुने सहमति र राष्ट्रिय सरकार गठन प्रक्रियाको सुरुवात सँगसँगै हुनुपर्नेमा जोड दिएको हो ।
बैठकमा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी ओलीले तीन दलबीच तीनबुँदे सहमति निर्माणको प्रक्रियाबारे जानकारी गराएका थिए ।
स्रोतका अनुसार अध्यक्ष खनालले शान्ति र संविधान निर्माणसहितको राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताए भने ओलीले प्रधानमन्त्रीलाई २४ घन्टामा राजीनामा गर्न माओवादीले दिएको अल्टिमेटम सहमतिविपरीत भएको बताए ।
ओलीले सहमतिबारे माओवादीले अपव्याख्या गरी प्रधानमन्त्रीको राजीनामालाई सर्त बनाएको टिप्पणी गरे । 'शान्ति प्रक्रियाका विषयमा दुई दिनमै सहमतिमा पुग्न सकिन्छ भन्ने पुष्पकमल दाहालको प्रस्ताव थियो,' ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, 'दुई दिनमा सकिँदैन पाँच दिनमा गरौं भन्ने कुरा भएको हो । शान्ति प्रक्रियाका विषयमा सहमति नभई राजीनामा गर्ने कुरा भएको होइन ।' उनले सहमतिको एक र तीन नम्बर बुँदा अन्तरसम्बन्धित भएकोमा जोड दिएका थिए ।
बैठकमा महासचिव ईश्वर पोखरेलले माओवादीसँग भएको पछिल्लो वार्ताबारे जानकारी गराएका थिए । 'संविधासभा विस्तारपछि बसेको तीन दलको पहिलो बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई छिटो टुंग्याउन माओवादी अध्यक्ष दाहाल तयार देखिएका थिए,' पोखरेलको भनाइ उद्धृत गर्दै बैठकका एक सदस्यले भने, 'लडाकुको संख्या र मापदण्डबारे ठोस प्रस्तावसहित अर्को बैठक गर्ने सहमतिबाट माओवादी पछि हटेको छ ।'
पछिल्लो पटक माओवादीले प्रधानमन्त्रीले राजीनामा गर्ने समझदारी कांग्रेस-एमालेले उल्लंघन गरेको आरोप लगाउँदै माओवादीले उनीहरूसँग वार्तामा नबस्ने घोषणा गरेको छ ।

No comments: